नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

admin

काठमाडौँ, १७ चैत: खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो । खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए । यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

 

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् । तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

प्रतिक्रिया