ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

admin

काठमाडौं, चैत २० : नेपालमा पनि छिमेकी भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ भित्रिइसकेको पुष्टि भएको छ। नेपालमा हाल कोरोना संक्रमितको संख्या फेरि दिनैपिच्छे बढ्दै गइरहेको छ। सोमबार कोरोना संक्रमण दर करिब ८ प्रतिशत पुगेको छ।

यही चैतमा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणबाट १० जनामा नयाँ भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार चैतमा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुनाको परीक्षण गर्दा ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए.२ दुई जनामा, बिए २.७६ एक जनामा, बिए.५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्सबीबी १.१६ दश जनामा, एक्सबीबी १.५ तीन जनामा, एक्सबीबी २.६ एकजनामा र एक्सबीएफ एक जनामा पुष्टि भएको हो।

छिमेकी मुलुक भारत र चीनमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट फैलिइरहेकाले सीमाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सीमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भए आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नु परेमा नजिकको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ।

छिमेकी मुलुक भारतमा आइतबार मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। सरकारले कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि लक्षण देखिए परीक्षण गराइ आइसोलेशनमा बस्न अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कोभिड-१९ को लक्षण देखिनासाथै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध गरेको हो।

रुघा, खोकी र ज्वरोजस्ता लक्षण कोरोना संक्रमणको हुने भएकाले सुरक्षित रहन मन्त्रालयको सुझाव छ। अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नबनाउन मन्त्रालयको अनुरोध छ।

नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकाले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन र संवेदनशील हुनसमेत मन्त्रालयले आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालय अनुसार देशभर गरिएको १ हजार १५१ नमुना परीक्षणका क्रममा एकै दिन ७६ जनामा संक्रमण देखिएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया