सीमाबाटै करोडौंको तस्करी

admin

काठमाडौं, चैत २१ : सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम रोकिन सकेको छैन ।

तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न नसकेको गुनासा बढेका छन् । विभाग र सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सीमाक्षेत्रमा कपडा, चिनी, रड, सिमेन्ट, खाद्यान्न, हार्डवेयरजस्ता सामानहरूको तस्करी हुने क्रम नरोकिएको हो ।

राजस्व अनुसन्धान विभागमा राजनीतिक हस्तक्षेप भई विभागको नेतृत्व अस्थिर बन्न पुग्दा त्यसको फाइदा तस्करहरूले उठाउने गरेको सरकारी अधिकारीहरूकै दाबी छ । राजस्व अनुसन्धान विभागमा एक वर्षभित्रै ४ जनासम्म महानिर्देशकहरू फेरिएका छन् ।

राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करहरूले मौकाको फाइदा उठाउँदै तस्करीलाई व्यापक पारेका हुन् । राजस्व प्रशासन अस्थिर भएसँगै पछिल्ला केही समयदेखि सीमानाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर देखिँदै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया