काठमाडौं, चैत २१ : काठमाडौं महानगरपालिका शिक्षा विभागले सबै सामुदायिक र संस्थागत विद्यालयलाई विद्यालयभित्र पाठ्यपुस्तक तथा स्टेसनरी र विद्यालय पोशाकलगायत विद्यार्थीले प्रयोग गर्ने सामग्री नबेच्न चेतावनी दिएको छ । त्यस्तै, तोकेकै पसलमा विद्यालयका सामग्री किन्न बाध्य नपार्न चेतावनी दिएको छ ।
विभागले सामुदायिक र संस्थागत विद्यालयहरूले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्यसामग्री, पोसाकलगायतका सामान खरिद गर्न बाध्य भएको सूचना आएपछि विभागले सो चेतावनी दिएको हो ।
विभागले आइतबार सबै सामुदायिक र संस्थागत विद्यालयलाई परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । यसअघि शुक्रबार पनि विभागले सोही विवरणको सूचना जारी गरेको थियो ।
विभागले तीनबुँदे निर्देशन जारी गरी महानगरभित्रका सामुदायिक विद्यालयमा अनिवार्य रूपमा पाठ्यक्रम विकास केन्द्रद्वारा तयार गरेको पाठ्यपुस्तक लागु गर्नुपर्ने निर्देशन गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।