काठमाडौं, चैत २८ : सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन ।
१४औं महाधिवेशनबाट नेतृत्व चयन गरेर पार्टीको नीतिका लागि ६ महिनाभित्र छुट्टै अधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको १६ महिना बित्दासम्म कांग्रेस नीतिविहीन अवस्थामा छ । नीति निर्धारण नहुँदा कांग्रेसको मार्गदिशा नै अनिश्चित बनेको छ ।
कांग्रेसले १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई चयन गरेको थियो भने पार्टीमा उपसभापति दुईसहित महामन्त्री दुई र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना सहमहामन्त्री निर्वाचनमार्फत चुनेको थियो ।
यस्तै, कांग्रेसले १४औं महाधिवेशनलाई नेता र नेतृत्व छान्ने महाधिवेशनका रूपमा लिएर नीति तय गर्न विधानमा भएको सुविधालाई प्रयोग गर्दै ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।