काभ्रेपलाञ्चोकका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गरिने

राष्ट्रिय समाचार समिति

काभ्रेपलाञ्चोक, २ वैशाख : काभ्रेपलाञ्चोकको धुलिखेलका होटलमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

जिल्लास्थित कोभिड–१९ अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समितिले पछिल्लो सातादेखि काभ्रेपलाञ्चोकमा कोरोना, डेङ्गु, रेबिज, झाडापखालालगायत रोग नियन्त्रणका लागि धुलिखेलका होटल व्यवसायीसँग छलफल गरी अभिमुखीकरण कार्यक्रम गर्ने योजना बनाएको हो ।

यसका लागि यहाँका होटल क्षेत्रलाई स्वास्थ्य सङ्कटमुक्त बनाउन आवश्यक ठानिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । सो अभियानअन्तर्गत पहिलो चरणमा होटलमा कार्यरत व्यक्तिलाई स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गराइने छ ।

“धुलिखेलका होटलले एउटा सुपरभाइजर तोक्नुपर्ने छ । उसले होटलमा आउने पर्यटक तथा पाहुनालाई स्वास्थ्य सङ्कट तथा महामारीबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डसहित उपायका बारेमा सचेत गराउनेछन्”, सेढाईँले भन्नुभयो । तोकिएका सुपरभाइजरलाई तालिम प्रदान गरिनेछ ।

धुलिखेलमा साना–ठूला गरी ४९ होटल छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको बताइएको छ । काडमाडौँबाट झण्डै ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका होटलमा करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेलका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक रु १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल व्यवसायी सङ्घ (हान)ले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लाका सबै क्षेत्र स्वास्थ्यका हिसाबले सुरक्षित छन् भन्ने सन्देश दिन जिल्ला र स्थानीय तहस्तरमा पनि कोभिड अनुगमन समिति तथा महामारी नियन्त्रण, व्यवस्थापन एवं रोकथाम समिति गठन गरिएको बताउनुभयो । क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठ हरेक होटलले स्वास्थ्य मापदण्ड पूरा गर्न सुपरभाइजर तथा स्वास्थ्यकर्मी राख्ने बताउनुहुन्छ ।

काभ्रेपलाञ्चोकमा कोभिड–१९ बाट हालसम्म १८ हजार एक सय ९६ जना सङ्क्रमित भएकामा एक सय ९६ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । पछिल्लो समय कोरोनाबाट ३३ जना सङ्क्रमित छन् ।

प्रतिक्रिया