मिटरब्याजपीडितलाई राहतभन्दा आहत

admin

काठमाडौँ, वैशाख ६ : काठमाडौंको चर्चित रत्नपार्क पारिपट्टि रानीपोखरीछेउमै शान्तिवाटिका छ । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन, ती आन्दोलनका सहिद, घाइते र २०४६ को राजनीतिक परिवर्तनका नेतृत्वकर्तामध्ये एक गणेशमान सिंहको स्मृतिमा उक्त शान्तिवाटिका स्थापना भएको हो ।

त्यही शान्तिवाटिका सोमबार एकाएक अशान्त बन्यो । त्यहाँको शान्ति बिथोलियो । त्यहाँ प्रहरीका लाठी बज्रिए, ढुंगा हानाहान भयो । प्रहरीले पानीका फोहरा बर्सायो ।

शान्तिवाटिकामा झन्डै महिना दिनदेखि देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित बसेका छन् । महोत्तरीको बर्दिबासबाट पैदल हिँडेरै चैत १३ गते काठमाडौं आएका मिटरब्याजपीडितको पहिलो समूह शान्तिवाटिकामा बसेको थियो । त्यो समूह सरकारसँग पाँचबुँदे सहमति गरेर फर्किएको थियो ।

त्यसपछि विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित चैत २० गतेदेखि शान्तिवाटिकामै बसेका छन् । काठमाडौं आएका मिटरब्याजपीडितको यो दोस्रो समूहले सरकारलाई माग पूरा गर्न दबाब दिइरहेको छ ।

आन्दोलनकै क्रममा सोमबार मिटरब्याजपीडित मार्चपास्टसहित सिंहदरबार घेर्ने र गिरफ्तारी दिने योजनामा थिए । यसबारे प्रहरी वृत्त दरबारमार्गकी प्रहरी प्रमुख कोपिला चुँडाललाई जानकारीसमेत दिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया