सिक्रीका लागि हत्या, १० दिनपछि आरोपित सार्वजनिक

admin

काठमाडौँ, १८ वैशाख : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले काठमाडौं कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई सार्वजनिक गरेको छ।

ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरी निरा हत्या आरोपमा पक्राउ परेका झापाको मेचीनगर नगरपलिका–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो। हत्या भएको १० दिनपछि आरोपितलाई सार्वजनिक गरिएको हो।

हत्यामा विश्वकर्मा एक्लैको संलग्नता रहेको ब्यूरोको दावी छ। लुटपाटको उद्देश्यले हत्या गरेको देखिन आएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ। अनुसन्धानका क्रममा सीसीटिभी क्यामेराको फुटेज पछ्याउँदै जाँदा अभियुक्त विश्वकर्मासम्म पुग्न सफलता मिलेको प्रहरीले जनाएको छ।

विश्वकर्मालाई शनिबार राति १० बजे झापा पुगी नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए। आचार्यका अनुसार विश्वकर्माले आफूले हत्या गरेको स्विकारेका छन्।

सरस्वतीनगरमा ‘निरु किचेन एन्ड गिफ्ट स्वभिनर सप’ सञ्चालन गर्दै आएकी पाण्डे यहि वैशाख ७ गते दिउँसो आफ्नै पसलमा मृत फेला परेकी थिइन्। शरीरभरी छुरा रोपेर उनको हत्या भएको थियो। निराकै पसलमा रहेको सीसीटिभी क्यामेरा काम नलाग्ने अवस्थामा रहेका कारण तत्काल प्रहरी घटनाको कुनै निष्कर्षमा पुग्न सकेन।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निरा हत्यामा अनुसन्धान अघि बढाएका थिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया