कांग्रेसबाट धनराज, मोहन र डिगबहादुर बने मन्त्री

admin

काठमाडौँ, २० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले बुधबार तीन जना नयाँ मन्त्री बनाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङलाई कानून, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्। कानून मन्त्री नियुक्त भएका धनराज कांग्रेसको उपसभापति हुन् भने उनले स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। गुरूङ गत १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेर उपसभापति जितेका थिए।

यस्तै बस्नेत सिन्धुपाल्चोक २ बाट गत मंसिरमा सांसद निर्वाचित भएका थिए। बस्नेत सभापति देउवानिकट मानिन्छन्। युवा तथा खेलकुद मन्त्री बनेका लिम्बु मोरङ क्षेत्र नम्बर १ का सांसद हुन्। उनी नेता शेखर कोइराला निकट मानिन्छन्। नयाँ मन्त्रीहरूको शपथ भने बिहीबार अपरान्ह ३ बजे हुनेछ। कांग्रेसबाट यसअघि सरकारमा ५ जना मन्त्री सहभागी थिए।

उपप्रधान तथा रक्षा मन्त्री उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउद, सहरी विकास मन्त्री सीता गुरूङ, अर्थमन्त्री प्रकाशशरण महत र रमेश रिजाल उद्योग मन्त्री भएका थिए। यी सबै सभापति देउवानिकट मानिन्छन्। आजको मन्त्रिपरिषद बिस्तारपछि पनि मन्त्रिपरिषदले पूर्णता भने पाउन सकेको छैन। प्रधानमन्त्री दाहालले वन र खानेपानी मन्त्रालय आफैँसँग राखेका छन्। वन मन्त्रालय जसपा र खानेपानी मन्त्रालय जनमत पार्टीलाई भाग परेको थियो।

प्रतिक्रिया