काठमाडौं, वैशाख २८ : चालु आर्थिक वर्षको चैतसम्ममा ९ खर्बभन्दा बढी रेमिटेन्स (विप्रेषण) भित्रिएको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनअनुसार यो वर्ष चैतसम्ममा रेमिटेन्स ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ आएको हो ।
गत आवसँग तुलना गर्दा रेमिटेन्स २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको चैतसम्ममा रेमिटेन्स त्यसअघिका वर्षका तुलनामा ०.२ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा भने चैतसम्मको रेमिटेन्स १३.९ प्रतिशतले बढ्दै ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिटेन्स १.८ प्रतिशतले घटेको थियो ।
चालु आवको चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ७८ हजार ८३९ पुगेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।