Home

फेक अडियो बनाएर मेरो चरित्र हत्या गरियोः सांसद राणा

admin

काठमाडौँ, १ जेठ : नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताउनुभएको हो ।

उहाँले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भएपनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले महिलाहरुलाई राजनीतिमा आउँदा अनेकौँ कुरा व्यहोर्नुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार अन्य महिलाहरुप्रति नगर्न आग्रह पनि गर्नुभयो ।सांसद राणाले भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनुभएकै होला । म फिजिकल फर्ममा यहाँ छु । र म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्ठ पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर यो देख्दाचाहीँ मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुप¥यो । मैले छ दिन अगाडी फेक अडियो मेरो नाम लिएर बनाइएको भूटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएको थिएँ ।

दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरुले विश्वास गर्नुहुन्न होला । सत्ता पक्षको यत्रो ठुलो नेताको श्रीमति भनेर । ३ घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृह मन्त्रालयबाट सिक गर्न चाहन्छु । अलमल किन थियो दर्ता गर्न ? ६ दिन हुँदापनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ? अरुजस्तै म त झनै आतुर छु, फेक अडियो मेरो मात्रै बनेको होइन ।

अरु अरुको पनि बनेको छ । तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ? म साच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्ट असानीसेसन होइन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । र म यो एकदम कडाइका साथ भन्छु महिलालाई राजनीतिमा आउँदाखेरी सबैकुरा हामीले व्यहोर्न सक्नुपर्छ । म व्यहोरिरहेको छु । तर यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । यो भन्दा अगाडीपनि धेरै महिलालाई आत्महत्या गर्न फोर्स गरेको छ मिडियाले ।

सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस् । र अरु जसको नाम आएको छ को दोषि हो ? को होइन प्रष्टकासाथ आउनुपर्छ ।’ सांसद राणाले देशमा गलत समाचार र फेक मिडियाको पराकाष्ठा पुगिसकेको भन्दै सरकारले अनुगमन गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया