काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

admin

काठमाडौँ, १ जेठ : नेपाल भलिवल संघले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन् ।

सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । अध्यक्ष चन्दले प्रतियोगितामा बिभिन्न विधामा उत्कृष्ट हुनुलाई समेत पुरस्कृत गरिने बताउनुभयो । उहाले संघले यसअघि ठूला–ठूला भलिवल प्रतियोगिताहरु आयोजना गरेको र त्यसको अनुभवका आधारमा अहिलेको प्रतियोगितामा निकै राम्रो व्यवस्थापन गरेको दावी गर्नुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिव २ करोड ७१ लाख लाग्ने अनुमान संघले गरेको छ । सरकारले २०७४ जेष्ठ ८ गते नेपालको राष्ट्रिय खेल भलिवललाई घोषणा गरेको दिनको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको संघले जनाएको छ ।

प्रतिक्रिया