निजगढ विमानस्थलकाे कुरा कतै हराउने हाे कि भन्ने डर लाग्न थालेकाे छ : माधव नेपाल

admin

काठमाडौँ, २ जेठ : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आउँदाे आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नुभएको छ ।

अध्यक्ष नेपालले निजगढ विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेस गरेको आउँदाे आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।

मङ्गलवार सङ्घीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उहाँले निगजढ विमानस्थलको महत्त्व अर्थमन्त्री महतले नबुझेको हाे कि भनेर प्रश्नसमेत गर्नुभयो । देशको ‘गेम चेन्जर’ कार्यक्रमकाे रूपमा रहेकाे याे विमानस्थललाई अघि बढाउन संसदीय समितिहरूलाई पनि विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शङ्का पनि, डर पनि लाग्न थालेको छ । पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्याश गरौँ भनेर यो समितिले त्यहाँको अध्ययन गरेर बाधा, अवरोधहरूलाई पन्छाएर निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो । अस्ति हाम्रो अर्थमन्त्रीजीले पेस गरेको कुरामा अनेक कुराहरू चर्चा गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई प्राथमिकताका साथ नाम उल्लेख गरेर अगाडि सारिएको छैन । अब यो महत्त्व नबुझेर हो कि, महत्त्व बुझाउनका तथ्य, तथ्याङ्क, प्रमाण, विश्लेषणसमेत पेस गर्नुपर्ने हो कि ? थाहा भएन ।’

अध्यक्ष नेपालले आफूले जति कोसिस गर्दा पनि याे विमानस्थलको काम अघि बढ्न नसकेको गुनासो गर्नुभयो । उहाँले ठूला शक्ति राष्ट्रहरूसँगको कुटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया