काठमाडौँ, जेठ ४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि छानविन गरेर कडा कारवाही गर्नुपर्ने माग गर्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार काठमाडौंको माइतिघरमा समाजवादी निकट संगठनहरुले कुनै दवाव र प्रभावमा नपरि उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले सवै युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर, युवा संघको खबरदारी, नउम्किउन् भ्रष्टाचारी लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले शरणार्थी प्रकरणपछि राजनीतिक दलका नेताहरु अत्तालिएको भन्दै यस प्रकरणमा कसैलाई पनि जोगाउन नहुने बताउनुभयो । उहाले अव सवै प्रकारका भ्रष्टाचारको अनुसन्धान गर्दै दोषीलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।