काठमाडौँ, जेठ ७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने काम भइरहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ओलीले दोषीलाई उम्काउने प्रयास र निर्दोषलाई फसाउने कोसिस भएको तथ्य आफुसंग गरेको दावी गर्नुभएको हो ।
शीर्ष दलहरुबीचको भेटघाटलाई शरणार्थी प्रकरणसंग जोडेको प्रति आपत्ती जनाउदै ओलीले दोषीलाई बचाउने खेलमा आफु र नेकपा एमाले नलाग्ने स्पष्ट पार्नुभयो ।
यस प्रकरणको बयान र छानबिन प्रकरणलाई नजिकबाट एमालेले हेरिरहेको भन्दै कोही पनि दोषी छुट्न नहुने उहाले बताउनुभयो । उहाले दोषी उम्काउने निर्दोष फसाउने प्रयास नगर्न खवरदारी पनि गर्नुभयो । ओलीले यस प्रकरणको अनुसन्धान धेरै अघिदेखि नै चलिरहेको भन्दै यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुँगामा ताउ लगाउनुपर्ने कुनै आवश्यकता नरहेको जिकिर गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम देशको प्रतिष्ठा बढाउने, देशको विकास गर्न सक्षम नभएको भन्दै समर्थन गर्न नसकिने बताउनुभयो । उहाले अहिलेको नीति तथा कार्यक्रम फिर्ता लिएर नयाँ कार्यक्रम बनाउन सुझाव दिनुभयो ।
ओलीले एमाले नेतृत्वको सरकारलाई विस्तापन गरि बनेको गठबन्धनको सरकार नै मुलुकको अर्थतन्त्रलाई संकटका डिलमा पुराउने प्रमुख कारक भएको आरोप लगाउनुभयो । सरकारको कार्यक्रममा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना नरहेको, सामाजिक न्याय कायम गर्ने दृष्टिकोण नरहेको, सरकारको आर्थिक नीतिको अभाव रहेको र राष्ट्र–जनताले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्न असक्षम रहेको उहाले बताउनुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन रहेको जिकिर गर्नुभयो । सरकारको कार्यक्रममा भारतले मिचेका भूमि स्पष्ट रूपमा उल्लेख नगरिएको तर्क गर्नुभयो ।
उहाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा खुलस्त रुपमा सीमा लगाएतका बिषयलाई राख्नुपर्ने बताउनुभयो । ओलीले संवाद, सहमति र सहकार्यको परिपाटीतर्फ देशलाई फर्काउनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।