काठमाडौँ, जेठ ८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले आगामी प्राथमिकता तय गर्न नसकेको बताउनुभएको छ ।
सोमबार संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिङ्देनले नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको र आगामी प्राथमिकता तय गर्न नसकेको भन्दै पुनर्लेखन गरेर ल्याउन सुझाव दिनुभयो ।
उहाले नीति तथा कार्यक्रममा जनयुद्ध शव्द राखेर आत्मरतीमा रमाउदा त्यसले केहि फरक नपर्ने भन्दै देश र जनतामा फरक पार्ने कार्यक्रम आउनुपर्ने बताउनुभयो ।
उहाले मुलुकको अवस्था सामान्य नरहेको र देशले आर्थिक संकट भोगिरहेको अवस्थामा यसको समाधानका उपायसहितको कार्यक्रम आउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले सरकारको कार्यक्रममा समावेश केहि बिषयहरुको पनि कार्यान्वयनको अवस्थामा प्रश्नचिन्ह खडा भएको बताउनुभयो ।