नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षडयन्त्र भएकाे छैन : गृहमन्त्री

admin

काठमाडौँ, ११ जेठ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षडयन्त्र नभएको स्पष्ट पार्नुभएको छ ।

बिहीबार सिंहदरबारमा एमाले निकट राष्ट्रिय युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै श्रेष्ठले प्रहरीलाई राजनीतिक लगाएत कुनैपनि दवाव वा प्रभावमा मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै षडयन्त्र नभएको स्पष्ट पार्नुभएको हो ।

यस प्रकरणमा आशंकका आधारमा कोहि निर्दोष फस्ने वा सार्वजनिक जीवनमाथि आँच आउने काम गर्न नहुने र कोही दोषीले छुट्कारा पाउन नहुने उहाले बताउनुभयो ।

उहाले यस प्रकरणमा थुप्रै व्यक्तिहरुको नाम आएको र एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी रहेको जानकारी दिनुभयो ।

प्रहरीले आफ्नो अनुसन्धान बयान मात्रै नभइ तथ्यप्रमाणका आधारमा अनुसन्धान गरिरहेको उहाको भनाइ छ । श्रेष्ठले यस प्रकरण सामान्य भ्रष्टाचारको बिषयमात्रै नभए राज्य विरुद्धको अपराध भएकाले त्यही ढंगले अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

युवा संघले मानव तस्करीको समग्र पक्षमा नगई अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ भएको काम कारवाहीको छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संगठनले अभियुक्तहरुको वयानलाइ लिएर एमालेका नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत आरोप लगाउने, वद्नाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारवाही गर्ने गराउने र राजनीतिक प्रतिशोध लिने तहसम्मको षडउन्त्र भएको महसुस भएको जनाएको छ । उनीहरुले यस प्रकरणमा राजनीतिक रंग नदिन समेत माग गरेका छन् ।

 

प्रतिक्रिया