काठमाडौँ, जेठ १६ : अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सांसद विकास कोष व्युताउन नखोजेको दावी गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणासहित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको बताउनुभएको हो ।
उहाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदहरूको भूमिका आयोजना छनौट गर्ने मात्रै भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले आफ्नो क्षेत्रमा आवश्यक आयोजनाका बारेमा सांसदहरुलाई नै बढि जानकारी हुने भएकाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको जिकिर गर्नुभयो ।
मन्त्री महतले पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको भन्दै यसको कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्नुभयो । बजेटका माध्यमबाट पुँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रकृयालाई प्रभावकारी बनाइने उहाले बताउनुभयो ।
मन्त्री महतले राजस्व नीतिमा व्यापक सुधार गरेको दावी गर्दै कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने गरी काम नगरेको जिकिर गर्नुभयो । उहाले नीतिका व्यवस्था कार्यान्वयनमा समन्वय हुने गरी मौद्रिक नीति आउने जानकारी दिनुभयो । बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने नभएको भन्दै व्यवस्थीत गर्न मात्रै खोजिएको उहाले बताउनुभयो ।