नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर

admin

काठमाडौँ, जेठ १८ : नेपाल र भारतबीच बिभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता र छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

दुईपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहि परियोजनाहरुको संयुक्त रुपमा बटन थिचेर उद्घाटन गर्नुभयो ।

दुईदेशबीच नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्ने सम्झौता भएको छ , त्यस्तै सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पु¥याउने सहमति भएको छ भने चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने सहमति भएको छ ।

पत्रकार सम्मेलनका क्रममा भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास गरिएको छ भने नेपालगन्ज–रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट तथा बथनाहा–विराटनगर कार्गो रेलको उद्घाटन गरिएको छ । पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुईदेशबीच भएको सम्झौताले सम्बन्ध थप प्रगाढ हुने बताउनुभयो ।

उहाले नेपाल भारतबीच ऊर्जामा सम्बन्धमा दीर्घकालीन सम्झौता भएको भन्दै नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले दुईदेशीय सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहने भन्दै सीमा लगाएत अन्य समस्याको समाधान खोज्ने जिकिर गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याहरुका बारे द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेको बताउनुभयो । उहाले भारतीयसंग निकै महत्वपूर्ण सहमति भएको भन्दै यसले मुलुकको बिकासका थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले दुईदेशबीच नयाँ हवाई रुटका बारेमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो ।

उहाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो । त्यसअघि बिहीबार नै प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सम्पन्न गरेर जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया