भारत भ्रमण फलदायी र सार्थक रह्यो : प्रधानमन्त्री प्रचण्ड

admin

काठमाडौँ, २० जेठ : भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भ्रमण फलदायी र सार्थक भएको बताउनुभएको छ ।

भारत भ्रमण पुरा गरि शनिबार स्वदेश फर्किलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमण फलदायी र सार्थक भएको भन्दै भ्रमणबाट दुईपक्षीय सम्बन्ध थप प्रगाढ भएको बताउनुभयो ।

उहाले अहिलेको भ्रमण बिगतको भ्रमण भन्दा फरक रहेको र परिणाममुखीका साथै भविष्यका निम्ती स्पष्ट मार्गदर्शन समेत गरेको बताउनुभयो ।

उहाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिनुभयो । उहाले भ्रमणका क्रममा सीमा समस्या, तराईका क्षेत्र डुवानका बिषय, ऊर्जा क्षेत्र लगाएतमा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा एक धार्मिक कार्यक्रममा सहभागी भएको बिषयलाई अनिरञ्जीत गर्न खोजिएको गुनासो गर्नुभयो । आफू कुनै पनि धर्मविरोधी नभएको र धर्मनिरपेक्षवादी भएको उहाले बताउनुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुभएको थियो । उहाले भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको थियो ।

 

प्रतिक्रिया