नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

admin

काठमाडौँ, २२ जेठ : नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् ।

१८ जना पक्राउ परिसकेका छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार अशोक पोखरेलसहित अर्का एक फरार अभियुक्त अमेरिकामा छन् । उनीहरूविरुद्ध प्रहरीमा जाहेरी परेपछि अमेरिका पुगेका पाइएको हो । यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा भारतमा रहेको प्रहरीसमक्ष सूचना आएको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकामध्ये अशोक पोखरेलसहित केही अभियुक्त अमेरिकामा र प्रतीक थापा भारतमा रहेको सूचना छ, केही अभियुक्त स्वदेशमै रहेको पनि बुझिएको छ, खोजी गर्दै छौं,’ प्रहरी स्रोतले राजधानीसँग भन्यो ।

प्रहरीको फरार सूचीमा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजीतका छोरा निरज राईसहित केशव तुलाधार, अशोक पोखरेल, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनितासावदेन लिम्बु, निरञ्जनकुमार खरेल, राजेश अर्याल र आशिष बुढाथोकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले फरार सूचीमा रहेका अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया