काठमाडौँ, २६ जेठ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता टिकाउने खेलमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री प्रचण्ड देशको हित नभई विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको उनको जिकीर थियो। शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको आरोप लगाए।
उनले भने, ‘आज प्रधानमन्त्रीको ध्यान पनि जनताको विषयमा होइन, देशको विषयमा होइन। देशको हितमा होइन। विदेशी प्रभुहरु रिझाउने, सत्ता टिकाउने। अनि, व्यक्ति व्यक्तिका पछिपछि लागेर हिँड्ने तर देशको पक्षमा काम नगर्ने प्रवृत्ति सरकारमा छ।
उद्योग क्षेत्रको प्रवर्द्धन गर्न सरकार लाग्नु पर्छ नै।’सचेतक बर्तौलाले सरकारले उद्योग क्षेत्रको प्रवर्द्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।