काठमाडौं, २८ जेठ: राष्ट्रिय तथ्यांक कार्यालयले किरात देवास राई समुदायको गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात देवास राई उत्थान समाज नेपालले आपत्ति जनाएको छ ।
आइतबार काठमाडौंको तथ्यांक कार्यालय पुगेर किरात देवास राई समूदायले १२ औं राष्ट्रिय जनगणना, २०७८ को जनगणनामा तथ्यांक संकलनको क्रममा टिपाएको भन्दा गलत तथ्यांक सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको हो । जनगणनाका क्रममा जातिको महलमा राई, भाषाको महलमा देवास र धर्मको महलमा किरात भनी ३०-४० हजारको संस्थामा विवरण टिपाएपनि तथ्याङ्क कार्यालयले गलत तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।
तथ्यांक कार्यालय पुगेर उनीहरुले गलत तथ्याङ्क मान्दैनौ, गलत तथ्याङ्क तुरुन्तै सच्चाउ, राज्यलाई सहि तथ्याङ देउ, हाम्रो पहिचान मेट्न पाइदैन लगाएता प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यस्तै आदिवासी जनजाती समूदायका बिभिन्न जातिलाई पनि थरका आधारमा फरक फरक जातीमा राखेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ लगाएतका जातिय संगठनले पनि राष्ट्रिय तथ्यांक कार्यालय परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुले जनगणनाको क्रममा दिइएका विरणका आधारमा जाति र धर्म स्पष्ट खुल्ने गरि सत्य र यथार्थ विवरण सहितको तथ्याङ्क सार्वजनिक गर्न माग गरेका छन् ।