काठमाडौं, २८ जेठ: आगामी आर्थिक बर्षको बजेटबाट आफुहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षक लगाएत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरदेखि थाल थटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने आफुहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निशुल्क शिक्षा लागू गर, सहमति सम्झौता कार्यान्वय गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा काम गर्ने कर्मचारीहरु खानका लागि समस्या भएको अवस्थामा सरकारले आफुहरुको कुनै माग सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । सरकारले खाली थालमा खाना राख्ने वातावरण बनाउनुपर्ने उहाले बताउनुभयो ।
आफुहरुको मागका बिषयमा सरकारसंग औपचारिक रुपमा कुनै कुराकानी नभएको र अनौपचारिक कुराकानीमा भने आफुहरुलाई घर जाने वातावरण बनाउन सुझाव दिएको तिवारीले बताउनुभयो ।