काठमाडौं, २८ जेठ: नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको आरोप लगाए।
उनले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे। उनले संसद राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह गरे।
सांसद दाहालले शाहीले प्रतिनिधिसभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे। नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उनले संसदीय नियमावलीभन्दा बहिर गएर बोलेको उल्लेख गरे।