भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाई भयोः अख्तियार प्रमुख राई

admin

काठमाडौं, असार २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाई भएको बताउनुभएको छ ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राईले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरु कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्र पुग्ने र प्रविधिको समेत दुरुपयोग हुने गरेकाले नियन्त्रणमा कठिनाई भएको बताउनुभएको हो ।

उहाले सुशासन कायम गर्न सके भ्रष्टाचार नै नहुने भन्दै सरकारले नै सुशासन कायम गर्न नसकेका कारण भ्रष्टाचार मौलाएको तर्क गर्नुभयो । आयोगको एक्लो प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्ने उहाको भनाइ छ ।

राईले उपभोक्ता समितिमार्फत काम गराउने सकारात्मक सोच भएपछि उपभोक्ता समिति नै बिचौलीयाका रुपमा देखिएको तर्क गर्नुभयो । सरकारी निकायमा आवश्यक नै नपर्ने सामानहरु खरिद गर्ने र त्यसमार्फत फाइदा हुने प्रवृति बढ्दो रहेको उहाले बताउनुभयो ।

उहाले विनापूर्वाग्रह सवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न आयोग केन्द्रित रहेको जिकिर गर्नुभयो । बैठकमा आयोगले गरेका कामकारवाही र भावी योजनाका बारेमा जानकारी गराइएको थियो ।

 

प्रतिक्रिया