Home

देशभित्र विद्युत् कटौती गरी निर्यात गरेको कुरा सत्य हाेइन : कुलमान घिसिङ

admin

काठमाडौं, असार २ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र विद्युत कटौती गरेर निर्यात गरेको भन्ने कुरामा सत्यता नरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा उत्पादित बिजुलीको मुलुकभित्रै खपत गरेर बाँकी रहेको विजुली मात्रै भारतमा बेच्ने गरिएको बताउनुभयो ।

उहाले अहिले तराईका क्षेत्रमा विद्युत लोड धेरै बढेका कारण बितरण लाईन र सिस्टममा देखिएको समस्याका कारण बत्ति जाने गरेको स्पष्ट पार्नुभयो । उहाले बितरण लाईनमा समस्या भएर एक घण्टा विद्युत अवरुद्ध हुदा प्राधिकरणलाई ठूलो घाटा हुने गरेको र उत्पादन गरिएको विद्युत नै खेर जाने अवस्थाको सिर्जना हुने बताउनुभयो ।

अहिले पिक आवर भन्दा अन्य समयमा उत्पादित विद्युत बढि नै हुने गरेको र त्यसलाई भारतमा बेच्ने गरिएको उहाको भनाइ छ । घिसिङले अहिले नेपालको विद्युत खपत २ हजार मेगावाट पुगेको र उत्पादन कुल उत्पादन क्षमता २७ सय मेगावाट रहेको जानकारी दिनुभयो ।

उहाले हरेक बर्ष विद्युत उत्पादन र माग बढिरहेको भन्दै समयमा नै ट्रान्समिसन लाइन बन्न नसके उत्पादन नै खेर जान सक्ने बताउनुभयो । ट्रान्समिसन लाइन निर्माणमा देखिएका समस्याहरुलाई राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्ने उहाको भनाई छ ।

प्रतिक्रिया