विश्व कप छनाेट : नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

admin

काठमाडौं, असार २ : आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे २ सय ९१ रनकाे लक्ष्य घरेलु टाेली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर भेटायाे । जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन विलियम्सले शतक बनाए । इरभाइनले १ सय २१ र विलियम्सले १ सय २ रन बनाए । बलिङतर्फ साेमपाल कामी र गुलसन झाले १/१ विकेट लिए ।

हरारे स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान राेहित पाैडेलले ३१ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए ।

आजदेखि सुरु भएकाे विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया