संसद बाहिरको नेकपासहित चार दलले घोषणा गरे ‘समाजवादी मोर्चा’

admin

काठमाडौं, असार ४ : नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र नेकपाले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच चार दलका शीर्ष नेताहरुले समाजवादी मोर्चा नेपाल घोषणा गरेका हुन् ।

समाजवादी मोर्चा घोषणासम्बन्धी सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गर्नुभएको थियो । सहमतिपत्रमा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने निर्णयप्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने उल्लेख छ ।

मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले बिभिन्न आन्दोलनबाट मुलुकमा भएको परिवर्तनलाई उल्टाउने षडयन्त्र भइरहेकाले मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुबिरुद्ध मोर्चा घोषणा भएको बताउनुभयो ।

उहाले देशलाई लागि इमान्दारीतापूर्वक काम गर्नेले मोर्चाबाट डराउनु नपर्ने भन्दै अग्रगमन पक्षधर, प्रगतिशील लगाएतलाई हातेमालो गर्न आह्वान समेत गर्नुभयो । प्रचण्डले यसअघि आफ्नै अग्रसरतामा नेकपा गठन गरेपनि त्यसलाई टिकाउन नसक्नुमा कसैलाई दोष दिन नचाहेको बताउनुभयो । अहिलेजस्तै मोर्चा घोषणाको साटो हतारमा पार्टी एकता गरेको हो की भन्ने आभाष भएको उहाको भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मोर्चा बनाएर कसैलाई तर्साउन नचाहेको भन्दै वामपन्थी शक्तिलाई मोर्चामा आउन आग्रह गर्नुभयो । अहिले दलहरुबीच समाजवादी मोर्चामात्रै गठन गरिएको भन्दै अन्य पार्टीमा बिलय हुन्छ कि भन्ने आशंका नगर्न उहाले आग्रह गर्नुभयो ।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनसहितका आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पारेर पुरानै शोषणको अवस्थामा फर्काउने प्रयास भइरहेको भन्दै यसका बिरुद्ध मोर्चा सशक्त भएर अघि बढ्ने जिकिर गर्नुभयो ।

त्यस्तै नेकपामा महासचिव नेत्रबिक्रम चन्द बिप्लवले प्रतिगामी र पश्चगामीहरूलाई रोक्न समाजवादी मोर्चा बनाएको भन्दै नेपालको राजनीतिक इतिहासमा नयाँ मोड र नयाँ राजनीतिक सुरुआत भएको जिकिर गर्नुभयो । देशमा पश्चगामीहरूको, प्रतिगामीहरूको नेतृत्व अब स्वीकार्य नरहेको भन्दै देशको नेतृत्व अग्रगामीहरुले नै गर्ने उहाको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादका विशेषताहरु पहिचान गरि समाजवादीको नेपाली बाटो तय गर्ने मोर्चाको सहमति पत्रमा उल्लेख छ । मोर्चाले तय गरेको नीति योजना र कार्यक्रमहरुको कार्यान्वयन र कायक्रमहरुको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न सचिवालय हुने र त्यसमा सदस्य दलहरुबाट तोकिएअनुसारका प्रतिनिधि राखिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया