पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै

admin

काठमाडौं, असार ६ : गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै छ।

बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ। हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ।

पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले भन्नुभयो, “फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्र्यागन बोट रेस फेस्टिभल’ लाई लक्षित गरेर सिचुवानले बुधबार चार्टर्ड उडान गर्न लागेको हो। बुधबार बिहान ९:३० बजे पोखरामा अवतरण हुने उक्त उडानमार्फत फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु अवतरण गर्दै छन्।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सिचुवानको एयरबस ए–३१९ विमानमार्फत १३० जना यात्रु पोखरा विमानस्थलमा अवतरण हुने छन्। उक्त विमान करिब दुई घण्टा पोखरामा विमानस्थलमा बसेर काठमाडौँ हुँदै बुधबारै चीनको छेङ्दु फर्किने छ।

उहाँले भन्नुभयो, “सोही उडानमार्फत हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसदहरू प्रदीप यादव, धवलशमशेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशङ्कर चौधरी र जीवन परियारसहित नौ जना समेत पोखरामा अवतरण गर्नुहुनेछ।”

प्रतिक्रिया