नेपाली विशेषताको समाजवाद निर्माण गर्न मोर्चा बनायौँ : जसपा

admin

काठमाडौं, असार ७ : जनता समाजवादी पार्टीले बिभेदरहित समाजको निर्माण गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न समाजवादी मोर्चा गठन गरिएको जनाएको छ ।

बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जसपाले मुलुकमा देखापरेका राष्ट्रिय समस्या समाधान गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न मोर्चा गठन गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले घोषित साझा विषयमा सहकार्य गर्न मोर्चा गठन गरिएको भन्दै मोर्चामा रहेका दलहरुको अलग अलग अस्तित्व रहने जिकिर गर्नुभयो ।

उहाले जसपाले आफ्ना एजेण्डा छाडेको भन्ने प्रचार गलत भएको र आफ्ना मुद्दाहरु थप बलियो ढंगले अघि बढाउने आधार तय भएको उल्लेख गर्नुभयो । त्यस्तै अध्यक्ष यादवले डा बाबुराम भट्टराईलाई मोर्चामा कहिल्यै नदेखेको भन्दै इच्छुक भए समेट्न तयार रहेको उल्लेख गर्नुभयो । उहाले अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको भन्दै सुधार गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै यादवले राज्यले देशको ठूलो समूदायलाई नागरिकता बिहिन बनाएको र अहिले पनि त्यहि मानसिकता देखिएको जिकिर गर्नुभयो । उहाले नागरिकता सम्बन्धी कानूनलाई व्यवहारमा लागू गर्नुपर्ने र आफ्नै देशका नागरिकलाई नागरिकता नदिने असंवैधानिक काम गर्न नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया