बालेनको पहिलो प्राथमिकतामा शिक्षा : कुन कार्यक्रमका लागि कति छुट्याइयो बजेट ?

admin

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याएका छन्। महानगरपालिकाले अन्य क्षेत्रभन्दा शिक्षा क्षेत्रको लागि बढी बजेट विनियोजन गरेको छ।

आइतबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आव ०८०/८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा क्षेत्रकाे लागि १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको जानकारी दिइन्।

उनका अनुसार महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरूमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रवर्द्धन गर्न “गरीखाने शिक्षा, महानगरको इच्छा” योजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न ५० करोड विनियोजन भएको छ।

सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउन ५ करोड रकम विनियोजन भएको छ।

सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्न आवश्यक प्रबन्ध मिलाएको उपप्रमुख डंगोलले बताइन्।

‘महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीहरूलाई मात्र खाजा खर्च उपलब्ध गराउँदै आइरहेकोमा आर्थिक वर्ष ०८०/८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकमसहितको प्रबन्ध मिलाएकी छु,’ उनले भनिन्।

उनले महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको पनि बताइन्।

उनका अनुसार सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको लागि मासिक भत्ता वृद्धि गरिएको छ। सोको लागि आवश्यक रकमको प्रबन्ध मिलाइएको छ।

प्रतिक्रिया