काठमाडौं, असार १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको बताउनु भएको छ ।
आइतबार काठमाडौंमा केशवप्रसाड वडालद्वारा लिखित पुस्तक सिंहावलोकन लोकार्पण गर्दै अध्यक्ष ओलीले झापा आन्दोलनको मर्म र उद्देश्य सही भएकैले अन्य आन्दोलन सम्भव भएको दाबी गर्नुभएको हो ।
सामन्तीविरुद्ध तमसुक च्यात्ने झापा आन्दोलनको मर्म वर्गीय विभेद विरुद्ध भएकैले २०४६ सालमा तानासाही राजतन्त्र विरुद्धको आन्दोलन पनि सम्भव भएको ओलीको तर्क थियो । ओलीले गणतन्त्र प्राप्तिका लागि २०६२ सालमा भएको आन्दोलन पनि झापा आन्दोलनकै श्रृंखलाका रुपमा रहेका उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले देशभित्र भएका आन्दोलनमा छिमेकीको नियतीले पनि प्रभाव पारेकाले आन्दोलन कमजोर भएको स्विकार्नु पर्ने बताउनुभयो ।
२००७ सालको क्रान्ति होस् या अन्य क्रान्तिमा उठाइएका हतियार कहाबाट कहाबाट ल्याइए ? भन्ने प्रश्नले पनि नेपालको आन्दोलन कहि न कहिबाट प्रभावित थियो भन्ने पुष्टि गर्ने ओलीको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले विदेशी शक्तिको आडमा पार्टी फुटाउनेहरुको हबिगत पनि देखिन थालेको भन्दै चोइटिएर जानेहरुको अस्तित्व नै समाप्त हुन लागेको आरोप लगाउनु भयो ।
आन्दोलन भित्र कहिलेकाही रोग लाग्ने भन्दै अध्यक्ष ओलीले रोग लाग्दैमा आन्दोलन नमर्ने जिकिर गर्नु भयो । आन्दोलनमा रोग लागेका बेला कतिपयले आफुहरुलाई कम्युनिष्ट नभनेको पनि बताउनु भयो ।