काठमाडौं, असार ११ : परराष्ट्रमन्त्री एनपी साउदले नेपालको भूमि पनि अतिक्रमण हुन नदिने गरी सीमा समस्यामा आपसी समझदारी खोज्ने सहमति भारतसंग भएको जानकारी दिनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिर्दै मन्त्री साउदले सीमा समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमण निकै फलदायी भएको दावी गर्दै नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिनेगरि अघि बढ्न समझदारी भएको बताउनुभयो ।
त्यस्तै उहाले भारतको संसदमा राखिएको नक्साका बारेमा भारतीय परराष्ट्रमन्त्रीसंग कुरा गर्दै अशोककालीन चित्र भएको र यो राजनीतिक नभएको बताएको जानकारी दिनुभयो ।
यस बिषयमा दिल्लीस्थित भारतीय दूतावासलाई नक्साका बारेमा बुझेर सरकारलाई जानकारी गराउन निर्देशन दिएको उहाँले बताउनुभयो । मन्त्री साउदले सार्कलाई गतिशील बनाउन सरकार लागिपरेको उल्लेख गनुृभयो । उहाले गैरआवासीय नेपालीको लगानीका लागि परराष्ट्रले सहजीकरण गर्दै आएको, राहदानी सेवालाई सहज बनाएको बताउनुभयो ।