काठमाडौं, असार १३ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले अनुसन्धान अघि बढाएको जनाएको छ ।
सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले चारजनालाई पक्राउ गरि अनुसन्धान गरिएको जनाएको हो । ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरेपनि तीन जनाले अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो ।
अहिले काठमाडौँ महानगरपालिका–६ का मीनबहादुर गुरुङ, रातोपुलका धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का गोपाल कार्की र काठमाडौँ महानगरपालिका–४ का सुधीर शाहमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।
ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको उहाले जानकारी दिनुभयो । उहाले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने समेत स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लामो समयदेखि अनुसन्धान गरिरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पु¥याउने गरी काम गरिरहेको बताउनुभयो ।