काठमाडौं, असार १५ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताउनुभएको छ ।
कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले सदैव समावेशीताको मुद्धालाई जोडदार रुपमा उठाउदै आएको भन्दै हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताउनुभएको हो ।
उहाले आदिवासी जातजातीको भाषा, संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने र यस क्षेत्रमा पर्यटन बढाउन सकिने धारणा राखनुभयो ।
कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले देशलाई भ्रष्टाचारको भुमरीबाट बाहिर निकाल्ने मिशनबाट सरकार पछि नहट्ने र एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाने बताउनुभयो । उहाले गठबन्धन सरकार ढल्ने हल्लाले सरकारलाई कुनै हालतमा कमजोर नवनाउने जिकिर गर्नुभयो ।
त्यस्तै कांग्रेस नेता भिष्मराज आङदाङ्बेले पार्टीका दुईवटै उपसभापति सरकारका जानुको कारणबारे आफुलाई जानकारी नभएपनि एक जनाले पार्टी र अर्कोले सरकार हेदा उपयुक्त हुने सुझाव दिनुभयो ।
उहाले अहिले पार्टीको केन्द्रीय समिति कर्मचारीले चलाएको जस्तो देखिएको उल्लेख गर्नुभयो । त्यस्तै कार्यक्रममा अन्य कांग्रेस नेताहरुले पार्टीप्रति आम कार्यकर्ता र जनताले गरेको अपेक्षा पुरा गर्नका लागि नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।