एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन : योगेश भट्टराई

admin

काठमाडौं, असार १७ : नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल नहुने बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले कोशी प्रदेशमा पहिचान पक्षधरसंग सम्वाद छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केहि नहुने बताउनुभएको हो ।

उहाले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवैको भाषाभाषी, जातजातीलाई एमालेले स्वीकार गर्ने तर नेपाल राष्ट्र कुनै एउटा जातीको राष्ट्र नभएको बताउनुभयो ।

एमाले सवैको साझा पहिचानको पक्षमा रहेको उहाको भनाइ छ । उहाले कोशी प्रदेशको नामकरणमा कसैको आपत्ति हुन सक्ने भएकाले संवैधानिक प्रक्रियाबाट भएको कुरालाई चित नबुझे अर्को संवैधानिक प्रक्रियाबाट बदल्न सकिने धारणा राख्नुभयो । उहाले समस्या समाधानका लागि सम्वादमा आउन पनि आह्वान गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशीको बिषयमा साझा एजेण्डा बनाएर छलफलमा जाँदा मात्रै समस्या समाधान हुने बताउनुभयो । कोशी प्रदेशमा संघर्ष समिति बनाएर नै आन्दोलन भइरहेको अवस्थामा कुनै दल बिशेषको मात्रै आन्दोलन भनेर बुझ्न नहुने उहाको भनाइ छ ।

सापकोटाले एमालेले कोशीको पक्षमा धेरै अडान लिएका कारण एमालेप्रति बढि बिरोध भएको बताउनुभयो । उहाले बहुसंख्यक जनताको धारणा अनुसार बिगतमा भएका त्रुटीलाई सच्चाउदै अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले कसैलाई आक्रमण गरेर समस्या समाधान नहुने भन्दै एमालेले पनि उग्र राष्ट्रवादीका नाममा एउटामात्रै पक्षमा अडान लिन नहुने र सत्तापक्षले पनि कसैलाई बाइपास गरेर जान नहुने बताउनुभयो । खतिवडाले कोशीमा देखिएको समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया