काठमाडौं, असार १९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेशा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताउनु भएको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी बिभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दिगो विकास नै कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गर्नु भयो ।
स्रोत र सम्भावना अथाह हुदाहुदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाई छ । कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उहाको भनाई छ । अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गर्नु भयो । कृषिमा गरिने लगानी प्रभावकारी बनाउदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफै घर आउने दाबी गर्नुभयो ।
ओलीले गरिबी निवारणकालागि भाषण गर्ने भन्दा पनि आधुनिक कृषि प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताउनुभयो । कृषिलाई उद्योगका रुपमा विकास गर्दै देशकै आर्थिक मेरुदण्ड बनाउन सकिए मात्रै नेपालको आर्थिक प्रणाली दिगो हुने ओलीको भनाई छ ।