काठमाडौं, असार २८ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने जानकारी दिनुभएको छ ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताउनुभएको हो ।
मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले एक लाख ३७ हजार कर्मचारीमध्ये संघ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताउनुभयो ।
त्यस्तै आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमको पोखरा र अमलेखगञ्जमा थप भण्डारगृह निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।
उहाले एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माणलाइ निरन्तरता दिएको बताउनुभयो । मन्त्री रिजालले जनकपुर चूरोट कारखाना सञ्चालन गर्ने कुनै योजना नरहेको र अन्य रुग्न उद्योगहरुको बारेमा अध्ययन सम्पन्न भइसकेको बताउनुभयो ।
त्यस्तै आफ्नो मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै शहरी विकास मन्त्री सीता गुरुङले नयाँ शहर आयोजनालाई प्राथमिकता दिदै बजेट बिनियोजन गरिएको बताउनुभयो । उहाले जनता आवास कार्यक्रम प्रदेशमा हस्तान्तरण भइसकेको अवस्थामा आगामी आर्थिक बर्षमा प्रदेश सरकारमार्फत अघि बढाउने गरि निरन्तरता दिइएको जानकारी दिनुभयो ।
त्यस्तै उहाले फोहोरमैला व्यवस्थापनमा स्थानीय तहलाई जिम्मेवार बनाउने गरि विशेष योजना बनाइएको पनि धारणा राख्नुभयो ।