प्रतिनिधि सभाको बैठकमा कसले के भने?

admin

काठमाडौं, असार ३० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीसंग छलफल गरेर समस्या समधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरु आन्दोलित भएको अवस्थामा सरकारले उनीहरुसंग छलफल गरेर समस्याको समाधान गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

उहाले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले लामो समयदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै एमाले सांसद गोकुल बास्कोटाले पुस्तौँपुस्तादेखि जमिन जोतिरहेको व्यक्तिको नाममा जमिन दर्ता हुन नसकेको र गुठीसम्बन्धी समस्या समाधान गर्न तत्पर हुनुपर्ने बताउनुभयो । उहाले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा गुठीको समस्याबाट पीडितलाई न्याय दिनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै आम जनता पार्टीका सांसद प्रभु शाहले वकिलहरुले मनपरी शुल्क लिने गरेको भन्दै वकिलहरुको न्यूनतम र अधिकतम रकम तोक्नुपर्ने बताउनुभयो । उहाले वकिलहरुले मुद्दाको ठेक्का लिने गरेको भन्दै मुद्दा हार्यो भने क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाले वलिकहरुले शुल्क लिदा रसिद पनि नतिर्ने र कर पनि नर्तिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया