डेंगुले महामारीको रूप लिने खतरा

admin

काठमाडौं, साउन १२ : वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ ।

जनवरीमा ६ जना डेंगुका बिरामी देखिएकोमा डेंगुका बिरामीको संख्या जुन महिनामा ६ सय ६७ र जुलाईमा मात्र १ हजार ८ सय ६२ जना पुगेको थियो । त्यसै गरी काठमाडौंबाट नजिकै रहेको धादिङ जिल्ला यतिबेला डेंगु संक्रमणको हिसाबले दोस्रो जिल्लाका रूपमा रहेको छ । धादिङ जनवरीमा २ जनामा डेंगु देखिएकोमा जुलाई २४ सम्म पुग्दा डेंगु संक्रमितको संख्या ४ सय १ पुगिसकेको छ ।

डेंगुको उच्च संक्रमण रहेका १० जिल्लामा सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडांै, संखुवासभा, म्याग्दी, कन्चनपुर, रूपन्देही र मोरङ रहेका छन् । जसमा काठमाडौं पाँचौं स्थानमा रहेको छ । प्रदेश स्तरमा कोशीमा २ हजार ७ सय ५४, वागमतीमा ६ सय ६७ जना, गण्डकीमा ३ सय ५४ जना, सुदूरपश्चिममा ३ सय १६ जना, लुम्बिनीमा १ सय ६६ जना, मधेस प्रदेशमा २२ जना र कर्णालीमा २० जना डेंगुका संक्रमित भएका छन् ।

२० वर्षको अवधिमा नेपालमा सन् २०२२ मा डेंगु संक्रमितको संख्या सबैभन्दा धेरै अर्थात ५४ हजार ७ सय ८४ रहेको थियो । सन् २००४ मा नेपालमा पहिलोपटक चितवनमा १ जना डेंगुको बिरामी भेटिएको थियो । विगत वर्षमा वर्षात्को मौसममा मात्र फैलिएको डेंगुको संक्रमण यो वर्ष जनवरीदेखि नै शुरू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सन् २०१६ को अक्टुबर महिनामा नेपालको चितवन र झापालगायत तराई भेगमा डेंगु महामारी फैलदा डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञ टोली नै परिचालन गरिएको थियो । त्यतिबेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालीन निर्देशक डा. भीम आचार्यले डेंगु विरुद्धको विशेष अभियानलाई तीव्रता दिन एक हप्ते थाइल्यान्डको भ्रमणसमेत रद्द गर्नुभएको थियो । तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले तत्काल मन्त्रालयमा बैठक राखी डेंगु नियन्त्रणका लागि निर्देशन दिनुभएको थियो । तर, हालका स्वास्थ्य मन्त्रीले डेंगुलाई खासै प्राथमिकता नदिएको गुनासो गर्दै मन्त्रालयकै केही कर्मचारीले भने– ‘मन्त्री ज्यूले डेंगु नियन्त्रणलाई प्राथमिकता दिनुको साटो निःशुल्क श्यया, औषधि पसलको अनुगमन जस्ता क्षणिक प्रचारमुखी काममा समय खर्चिरहनु भएको छ ।’

यसैबीच काठमाडौं महानगरपालिकाले नगरवासीलाई डेंगु रोग लाग्नबाट बचाउन कार्ययोजना बनाई, चरणबद्ध रूपमा हालसम्म २ सय ६९ वटा वडास्तरीय सचेतना ¥याली, ‘डेंगु लार्भा खोज र नष्ट गर’ अभियानहरू सञ्चालन गरिँदै आएको छ । महानगरपालिकाले डेंगु रोगबारे जानकारी लिन २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गर्नुका साथै बिरामीलाई १०२ नम्बरको निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि सुझाव दिएको छ । डेंगुका बिरामी बढ्दै गएसँगै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु क्लिनिक तथा ३० बेडको वार्ड सञ्चालनमा ल्याएको छ । धादिङमा पनि जिल्ला प्रशासन कार्यालयले सबैलाई डेंगु नियन्त्रणका लागि सचेतना जगाउँदैछ । डेंगु संक्रमण भइहालेमा वडामा रहेका स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकहरूमा पर्याप्त मात्रामा सिटामोल, जीवनजललगायत आवश्यक औषधिको प्रबन्ध मिलाइएको छ ।

वर्षात्को समय र वर्षात् सकिना साथै फैलने डेंगु रोग देखापर्ने जानकारी दिँदै टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भन्नुभयो– ‘डेंगु मान्छेबाट मान्छेमा सर्दैन । धरानमा व्यापक रूपमा फैलिएको भन्ने जानकारी आएको छ । काठमाडौंमा धेरै संक्रमित बिरामी अस्पताल नआएको भए पनि बिरामी भने बढेका छन् । डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्छ र रक्तश्राव गराउँछ । यो रोगको लक्षण भनेको टाउको दुख्ने, जीउ दुख्ने, ज्वरो आउने, आँखा रातो हुने, वाकवाक लाग्ने हो । यस्तो लक्षणहरू देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्छ ।’

उहाँले डेंगुको विशेष औषधि नभएको कारण लक्षणमा आधारित उपचार गर्ने गरिएको जानकारी दिँदै भन्नुभयो– ‘औषधि छैन भन्ने गरेकै कारण बिरामीको संख्या अस्पतालमा कम छ । डेंगु संक्रमण हुँदा हड्डी नै भाँचिएजस्तै अत्यधिक दुखाइ हुन्छ । यसका साथै नाक, मुख, दिसाबाट अत्यधिक रक्तश्राव, वान्ता हुन थाल्यो भने तत्काल चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्ने हुन्छ ।’ उहाँले डेंगुबाट बच्नका लागि लामखुट्टे बस्ने वातावरण बन्न नदिन पानी जम्ने ठाउँ, टायर, भाँडाकुँडा, नयाँ निर्माण गरेका घरमा फालिएका चिजहरूलाई व्यवस्थित गर्ने र सकेसम्म पूरा शरीर ढाक्ने कपडा लगाउने, घरको झ्यालमा जाली राख्ने, झुलभित्र सुत्नेजस्ता विधि अपनाएर डेंगु सार्ने लामखुट्टेबाट बच्न र बचाउन सकिने बताउनुभयो । यो समचार आजको नेपाल समाचार पत्रमा छ ।

प्रतिक्रिया