काठमाडौं, साउन १७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
बुधबार चितवनमा आयोजित कार्यक्रमकाबीच लामिछानेले निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गर्नुभएको हो । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाटै निःशुल्क सञ्चालन सुरु भएको छ । लामिछानेले निर्वाचनको समयमा घोषणा गर्नुभएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा कार्यान्वयनमा ल्याएको जनाउनुभएको छ ।
लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गर्नुभएको छ । त्यस्तै पैसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ ।
सो क्रममा लामिछानले आफुले सुुरु गरेका कार्यक्रमहरुलाई निरन्तरतामा ध्यान दिइने बताउनुभयो । लामिछानेले योजनाबद्ध ढंगले आफुले घोषणा गरेका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउने जिकिर गर्नुभयो ।
लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताउनुभएको छ । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको बुधबार एक सय दिन पुगेको हो ।