काठमाडौं, साउन २२ : नागढुङ्गा सुरुङमार्गको रेस्क्यु सुरुङ अर्थात् उद्धार सुरुङ आज छिचोलिने भएको छ । आज दिउँसो खनिसकेर सुरुङ छिचोलिने अर्थात् ब्रेक थ्रु हुन लागेको हो ।
रेस्क्यु सुरुङ अब एक मिटरमात्र खन्न बाँकी रहेको सडक विभागको विकास सहायता समन्वय महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यु टनेल छिचोलिने छ ।
सुरुङ मार्गमा धादिङ तर्फबाट प्रवेश गरेर काठमाण्डौतर्फ निस्कने कार्यक्रम छ । विसं २०७६ साल कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो ।
साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ ।
दुई दशमलव छ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।