बंगलादेशी नागरिकलाई बन्धक बनाइ फिरौती असुल्ने सातजना पक्राउ

admin

काठमाडौं, २८ साउन : पोल्याण्ड लगाएत बिभिन्न देश पठाउन भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सातजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दुई नेपाली नागरिक इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली रहेकी छिन् भने ५ वंगलादेशी नागरिकमा अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहान्गीर अलाम र ताहमिना बेगम रहेका छन् ।

उनीहरुले बंगलादेशबाट बिभिन्न प्रलोभनमा नेपाल ल्याई बन्धक बनाएर परिवारसंग रकम मागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिनुभयो ।

आफुहरुसंग भएको रकम असुल गरेर परिवारसंग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक वंगाली नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान गर्दा गिरोहलाई पक्राउ गर्न सफल भएको उहाले बताउनुभयो । विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उहाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा वंगलादेशी पीडित नागरिकहरुले आफुहरुलाई एजेण्डले पोल्याण्ड लगाएतका देश पठाउनका लागि पाँच लाख रुपैया लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफुहरुसंग खर्चका लागि भएको पैसा, मोवाइल पनि लिएको बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिताका साथै संगठीत अपराध ऐन बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

प्रतिक्रिया