काठमाडौं, ३० साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहेपनि नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखिएको बताउनुभएको छ ।
आन्तरिक राजस्व विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै मन्त्री महतले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार हुदै सकारात्मक बाटोमा उन्मुख भएपनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताउनुभएको हो ।
उहाले कोरोना महामारी र रुस–युक्रेन युद्धको असरपछि असरलगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्नेमा त्यसो हुन नसकेको जिकिर गर्नुभयो ।
चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न पनि अर्थमन्त्री महतले देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।
महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको दावी गर्नुभयो । कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रणालीमा सुधार गर्दा पनि जिडिपी सकारात्मक भएपनि राजस्व संकलन भने कम हुनुको कारणबारे अध्ययन भइरहेको बताउनुभयो । उहाले कर प्रणालीलाई चुस्तदुरुस्त राखेकाले लक्ष्य अनुसारको राजस्व संकलन हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै निजि व्यवसायीहरुले करको दरभन्दा पनि दायरा बढाउन सके सरकारले राखेको लक्ष्यअनुसार राजस्व उठ्ने धारणा राखेका थिए । ठूलो संख्यामा व्यवसाय तथा व्यक्तिहरु कर प्रणाली बाहिर रहेकाले त्यसलाई समेट्न सक्नुपर्ने उनीहरुको भनाइ छ । व्यवस्थापन गोष्ठी दुईदिनसम्म चल्ने राजस्व विभागले जनाएको छ ।