काठमाडौं, ३१ साउन: अर्थमन्त्री डा. प्रकाशशरण महतले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।
राष्ट्र निर्माण मञ्च नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकमा धेरै अवसरहरु सिर्जना भइरहेकाले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको हो ।
मुलुकको अवस्था विग्रिएको, अर्थतन्त्र ध्वस्त भएको र रोजगारी नपाइने भएकाले विदेश जानुको बिकल्प छैन भन्ने नकारात्मक कुरा गर्ने प्रवृतिले युवाहरुमा निराशा छाएको उहाले बताउनुभयो ।
उहाले विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने धारणा राख्नुभयो । हरेक व्यक्तिमा हुने क्षमतालाई पहिचालन गर्दै अवसर लिन उहाले अनुरोध गर्नुभयो ।
मन्त्री महतले भूपरिवेष्टिक देश भएकाले हरेक उत्पादन विदेशमा लैजान यसअघि समस्या हुने गरेपनि अहिले डिजिटल प्लेटफर्ममार्फत आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।