आज ओल्के पर्व मनाइँदै

admin

काठमाडौं, १ भदौ : सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आज सुदूरपश्चिम प्रदेशमा यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको अघिल्लो दिनदेखि नै तयारी गरी हरेक घरमा मीठा–मीठा खानाका परिकार पकाउने गरिन्छ । कामका लागि घर बाहिर रहेकाहरू पनि यो चाड मनाउन आ–आफ्नो घर फर्किन्छन् ।

ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर–छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौैँदेखि कायम छ ।

ओल्के पर्वका दिन विवाहिता छोरीलाई माइतीमा निम्तो गरी पुरी, बावर, माणा, निसौसे, गतानी डुब्कालगायत डोटेली खानाका मीठा परिकार खुवाउने चलन छ । यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदोबाट हत्केला र खुट्टाको औँला रङ्ग्याइ रमाइलो गर्ने गरिन्छ ।

यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भइ यसले वर्षातकाे मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने विश्वास छ ।

युवापुस्तालाई यो पर्वबारे त्यति चासो नहुँदा डोटेली मौलिक संस्कृतिका ओल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता हराउन थालेको धनगढीका हेमराज भट्ट बताउनुहुन्छ । ओल्के पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया