काठमाडौं, २ भदौ : गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेश प्रदेश र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर छ। भारतको ओडिसा र आसपासमा न्यून चापीय क्षेत्र रहेको छ।