काठमाडौं, ३ भदौ : सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीन वटा उजुरी परेका छन् ।
सिंहदरबारमा आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध परेको तीनवटा उजुरीमाथि सोमबार छलफल गर्ने निर्णय गरेको छ । सोमबार बिहान साढे १० बजे उजुरीकर्ताहरूलाई बोलाउने समितिको निर्णय छ ।
उजुरीकर्ताहरुसंग छलफल गरेपछि सोमबार नै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिनुभयो ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो । साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।