काठमाडौं, ३ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकामा हुने राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आइतबार मन्त्रालयमा आयोजित कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार नियन्त्रण सम्बन्धी बैठकमा श्रेष्ठले मुलुक आत्मनिर्भर हुने वस्तुमा बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको भन्दै राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
उहाले भन्सार नाका र खुला सीमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या नभएकाले यसप्रति गम्भीर रहेको बताउनुभयो । भारतवाट चोरी पैठारी हुदै कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिदा बिभिन्न रोगको जोखिम बढेको भन्दै क्वारेन्टाइनसम्बन्धी कानून परिमार्जन गर्न समन्वयन गर्ने उहाको भनाइ छ ।
श्रेष्ठले सीमा क्षेत्रमा दर्ता नभएर सञ्चालन भएका वा दर्ता भएर पनि अवैध रुपमा सञ्चालन भएका कुखुरा फार्महरुलाई हटाउन निर्देशन दिर्ने धारणा राख्नुभयो । उहाले अर्थतन्त्र सुधारका लागि आन्तरिक पुँजी निर्माण, पुँजीगत खर्च कार्यान्वयनको अवस्था र व्यापार घाटा न्यूनीकरणलाई सम्बोधन नगरेसम्म मुलुक अघि बढ्न नसक्ने उल्लेख गर्नुभयो ।
बैठकमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कोरोनापछि मुलुकको पोल्ट्री व्यवसायमा निकै समस्या देखिएको र भारतबाट हुने चोरी पैठारीले थप असर परेको बताउनुभयो । त्यस्तै व्यवसायीहरुले सीमा क्षेत्रमा खोलिएका कुखुरा फार्मलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, अवैध ओसारपसार गर्नेलाई कडा कारवाही गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए ।